१. वीलसन रोग के हो ?
हाम्रो शरीरले अन्य तत्वहरू जस्तै तामा तत्व (Copper) लाई पचाउन र बढी भएको तामालाई निश्काशन गरी फ्याक्न
सकेन भने सो तत्व शरीरका केहि महत्वपूर्ण अङ्गहरू मुख्यतः कलेजो र गिदीमा जम्मा हुन
जान्छ जसले गर्दा ती अङ्गहरूले आफ्नो नियमित कार्य गर्न सक्दैनन् र शरीरमा विभिन्न
थरिका विकृतिहरू देखा पर्दछन्, जसको प्रत्यक्ष असर कलेजो, गिदी र आँखामा पर्दछ । कलेजोमा तामा जम्मा हुन गएमा
वान्ता हुने, शरीर कमजोर हुने, पेटमा पानी (Fluid) जम्मा हुने, खुट्टा/ घुँडा सुन्निने, छाला पहेलो हुने, शरीर चिलाउने, खाना पचाउन गाह्रो हुने आदि हुन्छ । गिदीसंग सम्बधित
लक्षणमा शरीर काम्ने, मांशपेसी कडा हुने, खाना खान र बोल्न गाह्रो हुने, आनीबानी (बानी व्यवहारमा परिवर्तन हुने), अरुले नदेखेको वा नसुनेको कुरा देख्ने वा सुन्ने आदि हुन सक्दछ ।
समस्या बढ्दै जाँदा कलेजोले काम नगर्ने, कलेजोको क्यान्सर, मृगौलामा समस्या र पक्षाधातसम्म हुन सक्दछ ।
यस्तो समस्या करिब ३० हजार जनामा एकजनालाई हुने गरेको
छ, अर्थात् यो अत्यन्त कम मानिसहरूमा हुने वा विरलै
हुने रोग हो जुन सामान्यतया वंशानुगत हुने गर्दछ । यो रोग पहिलोचोटी सन् १८५४ मा पत्ता
लागेको हो र यसलाई वीलसन रोग (Wilson's Disease) भनिन्छ ।
२. खाद्य पदार्थहरूमा तामाको मात्राः
प्राय सबै खाद्यवस्तुहरूमा अन्य तत्वहरू लगायत तामा
तत्व पनि पाइन्छ । तर कुनै खाद्यवस्तुमा तामा बढी पाइन्छ त कुनैमा कम र कुनैमा ज्यादै
कम । तामा तत्व (Copper) पचाउन र बढी भएको तामालाई निश्काशन गरी फ्याक्न नसक्ने व्यक्तिहरूका लागि तामा
बढी हुने खाद्यवस्तुहरू नखाने र तामा ज्यादै कम पाइने खाद्यवस्तु मात्र खाने गर्नु
पर्दछ । त्यसो हुनाले कुन कुन खाद्यवस्तुमा तामा ज्यादै बढी र कुन कुन खाद्यवस्तुमा
तामा बढी वा कम पाइन्छ भन्ने कुरा थाह पाउन जरुरी हुन्छ । जसले गर्दा वीलसन रोगको समस्यालाई
कम गर्न सकिन्छ । तामा कम पाइने र बढी वा ज्यादै बढी पाइने खाद्यवस्तुहरू तल दिइएको
छः
(क) तामा कम पाइने खाद्य पदार्थहरूः
- अण्डा,
- टर्की र कुखुराको सेतो मासु,
- ताजा तरकारी (ब्रोकाउली, चुकन्दर, कुरिलो, सिमीको टुसा, पालुङ्गो, गोलभेँडा आदि),
- चामल, ओटमियल (Oatmeal),
- सरिफा वा सीताफल, आँप, मेवा, नास्पति, भुइँकटहर,
- जैतुनको तेल ।
(ख) तामा बढी पाइने खाद्य पदार्थहरूः
- झिँगे माछा, सिपी, गँगटा लगायतका समुन्द्री खाना,
- क्याले (Kale) साग,
- सिता के च्याउ,
- एभोकाडो, सुकाएको खुर्पानी,
- सुकेको चना, सिमी, केराउ, मुसुरो,
- तिल, सूर्यमुखी र आलसको बीयाँ,
- काजु, कागजी बदाम, कटुस, ओखर,
- बाख्राको दुधबाट बनेको चीज,
- अमिल्याएको भटमासको परिकार, भटमासको पाउडर, तोफु, भटमासबाट बनेका पेय पदार्थ,
- सकरखण्ड,
- सलगमको साग, हरियो तरकारीको जुस (Vegetable juice),
- चकलेट, कोका,
- अन्य खाने कुरा पनि तामाको भाँडामा राख्न वा खान दिन नहुने
(ग) तामा अति बढी पाइने खाद्य पदार्थहरूः
- कलेजो, मुटु, गिदी,
- तामाको पाइपबाट बगेर आउने वा तामाको भाँडामा राखिएको पिउने पानी,
- पिउने पानी पनि जाँच्नु पर्ने । वीलसन रोगको समस्या भएको व्यक्तिले ०.१ पि.पि.एम. अर्थात् प्रति लिटर ०.१ मि.ग्रा. भन्दा बढी तामा भएको पानी पिउन नहुने
- तामा नभए पनि कलेजोलाई बढी खराब गर्ने कारणले गर्दा जाँड, रक्सी, बीयर आदि खानै नहुने ।
३. हाम्रो शरीरमा तामाको कमी भएमा हुन सक्ने समस्याहरू
हाम्रो शरीरमा तामा बढी भएमा एक प्रकारको समस्या
पैदा हुन्छ भने कम भएमा अर्को प्रकारको समस्या उत्पन्न हुन्छ । त्यसैले हाम्रो शरीरलाई
चाहिने मात्रामा तामा प्राप्त हुन पनि जरुरी छ । हाम्रो शरीरमा तामा कम भएमा निम्न
प्रकारका समस्या उत्पन्न हुन सक्दछन्ः
- कपाल सुक्खा हुने, लट्टिने र सजिलै टुक्रिने वा झर्ने,
- रक्त अल्पता,
- मुटु र रक्त सञ्चारमा समस्या,
- जोर्नीहरूमा दुखाई (Artiritis),
- निराशा बढ्नु वा चिन्ता ग्रस्त हुनु (Depression),
- पखाला लाग्नु,
- कोलेस्टेरोल बढ्नु,
- कलेजोको सिरोसिस् (Cirrhosis) को समस्या आदि ।
४. वीलसन रोग उपचारका केहि उपायहरूः
- तामा बढी पाइने कुनै पनि खाद्य पदार्थ नखाने र सकेसम्म कमभन्दा कम तामा पाइने खाद्य पदार्थ मात्र खाने,
- कम भन्दा कम तामा भएको पानी मात्र पिउने, अर्थात् तामा बढी भएको पानी नपिउने,
- तामाको पाइपबाट बगेर आउने वा तामाको भाँडामा राखिएको पानी नपिउने वा खाना बनाउनमा प्रयोग नगर्ने,
- चिकित्सकको सल्लाह अनुसार (क) जस्ता (Zinc) को प्रयोग – एसिटेट्, सल्फेट वा ग्लुकोनेटको रूपमा जस्ताको प्रयोग गरिने, (ख) पेनिसिलामाइन (Penicillamine) को प्रयोग, (ग) ट्राइन्टाइन (Trientine) को प्रयोग र (घ) टेट्राथायोमोलिविडेट (Tetrathiomolybdate) को प्रयोग आदि रहेका छन्,
- कलेजो प्रत्यारोपण आदि ।
No comments:
Post a Comment